-Sital Nishchal

नेपाल आमा, म रोऊँ कि हाँसूँ?

Hollywood Khabar July 30,2023 Comments

-शीतल निश्चल, गोरखा, लप्सीबोट, जुलाई ३०, २०२३


हिजोआज चिन्तित छु
छायाँ दिन्छौँ भन्ने रुखमा
पुराना फौजी कीराको आतङ्क छ
पातमात्र होइन जरासम्म
जिब्रो लटपटाउँदै अघिदेखि
र्‍याल काढ्दै निलिसकेका छ्न् ...
रेबिजको भयानक डर छ
भन ...म के गरूँ ?

अब फलाम तातेर रातो हुँदैन
हतौडा र हँसिया तातो हुँदैन
धेरै विध्वंस रचाएका छन्
रक्तपात मच्चाएका छन्
विकास गर्ने हातहरू
शिक्षा दिने माथहरू
गिँडिएका छन् आँखा अगाडि
अब म कसको मलामी जानु ?
भन ..म के गरूँ ?

अब पुनः
सूर्यले दूषित किरण
प्रवाह गर्दा फेरि ग्रहण लाग्छ
न अन्न फल्छ न भात पाक्छ ।
गर्भधारण गरेर
गर्भपतन गरेर
मझेरीमा सुतेकी भगिनी जस्तै
म कति दिन कुनामा लुकेर बसूँ
अब मैले क-कसका उखान सुन्नु ?
भन ...म के गरूँ ?

यहाँ नयाँ पण्डितहरू
सडकमा घण्टी बजाउँदै
नयाँ शैलीका गीत गाउँदै
खाली धोक्रो भर्न
दुमो राखेको खर्क चर्न
हतार हतार गाउँ छिरेका छन्
आश्वासनका झोली भिरेका छन्
शङ्ख बजाए पनि
बराँठको सिङ फुके पनि
ध्वनि उही हो
अब मैले कुन धुनको आशा राख्नु ?
भन .. म के गरूँ ?

पुरानो मक्किएको हलो बोकेर
पुरानै कोदोको रक्सी धोकेर
गाउँका गल्लीमा डल्ला फुटाउँदै
नौला अनुहार अघिपछि जुटाउँदै
बाबुको बिँडो थाम्ने
पुराना शास्त्रीय धुन सिक्नेहरू
गीतका शब्दमा बिक्नेहरू
कानका जाली फुटाउँदै छन्
भन्छन् कहिले मेरो पालो आउँछ ...?
भन .. म के गरूँ ?

यहाँ सत्य लेखिने
सजीव अक्षर हुँदाहुँदै
मृत कलम बोकेर
चोइटिएका खप्परहरू
जादु देखाउने आश्वासन बोकी
गाउँ गाउँ पसेका छन्  
लाज पचाएर बिना ढेउबा के ....
युवा विदेश भनेका छन्
अब म तिनको अनुहार कसरी हेरूँ ?
नेपाल आमा भन ... म के गरूँ ?

शीतल निश्चलका कविताहरु