विह्वलता

Hollywood Khabar April 25,2023 Comments

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, अप्रिल २४,२०२३

माउले दिएको चारा लिएर
माउसितै रमाउँदै थिए- चल्लाहरू
माउ पनि चल्लाहरूका बीचमा
आकाशका ताराहरूका बीचको
जूनजस्तै बनेर
विना भेदभाव सबैमा
स्नेहको उज्यालो छर्दै थियो
अनायास आकाशबाट
वज्रपात बोकेर
बिजुली वेगमा चील आई
चल्ला च्यापेर आकासियो
माउ चिल्लायो चिर्बिरायो
यो आर्तनादको के थियो र उपचार !!

विनाशी यस दृश्यले
भित्रभित्रै पग्लिँदै
म देश देशका
सत्ताका मालिकहरू सम्झिएर टोलाइरहेँ !

मृगहरू हरियो चउरमा
घाँसका हरिया मुनाहरू चर्दै
हर्षले उफ्रिरहेका / खेलिरहेका
शावकहरूका साथमा
आफ्नै सुन्दर शान्त संसारमा
रमाइरहेका थिए
अनायास कालको प्रतिरूप
निर्दयी बाघ त्यतै लम्किएर
लघार्दै लघार्दै निरीह तिनैमाथि
आफ्ना विषालु नङग्रा र दाह्राहरू धसेर
भोकको भोजन जुटाएको
बीभत्स दृश्य देख्दा
लासको भ~याङ चढेर
तलकालाई हकारिरहेका र माथि डकारिरहेका
देश देशका करुणा हराएका
संवेदनाहीन सत्ताका मालिकहरू सम्झिएर
म मन अमिलिँदै टोलाइरहेँ !
 
सर्पहरू भ्यागुता निल्छन्
माछाहरू माछा नै निल्छन्
चराहरू चरा नै चिमोठ्छन्
मान्छेहरू मान्छे नै निमोठ्छन्
अरिङ्गालहरू मौरीका प्राण लिन्छन्
माकुराहरू माउ नै चपाउँछन् !
दु:खले रचेका गौँथलीका गुँडहरूमा
वानरहरू सहजै
आफ्ना विनाशी हातहरू लम्काउँछन् !

घाम उदाएपछि
चम्किरहेका ताराहरू
थाहा हुन्न कता किनारा पर्छन् !
यो निरीह पृथ्वी
शक्तिशाली सूर्यको
परिक्रमा गरिरहेको छ
यसलाई बदल्ने
यसलाई निषेध गर्ने
छ कसैको तागत ?

**तीर्थराज अधिकारीका अरु कविता**