आकाशमाथिका आकाशहरू

Hollywood Khabar May 04,2023 Comments

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, मे ४,२०२३

बाटो कतै जाँदैन
बाटो सधैँ बाटामै हुन्छ
जाने त यात्रीहरू हुन् !

एउटै मान्छे
उभिँदा अग्लो र सुत्दा/ पसारिँदा
लामो भए झैँ
एउटै बाटो
माथि जानेहरूका लागि उकालो
र, तल झर्नेहरूका लागि
ओरालोमा दरिन्छ ।

बाटाका सिँढीहरू टेक्दै
कुनै पाइलाहरू उकालो चढ्छन्
कुनै पाइलाहरू ओरालो झर्छन्
विना कुनै प्रतिक्रिया अचल बनेर
सिँढीहरू बटुवाका
पाइलाका भारी बोकिदिन्छन्
एउटै बाटाका यात्रीहरू
कुनै शिखर चुमेर मुस्कुराउँछन्
कुनै झरेर गर्तमा उसै हराउँछन् ।

नदीका किनाराहरू
जलले सुम्सुम्याउँदै
सह-यात्रामा
जति अनुनय विनय गर्दै
आमन्त्रण गरे पनि
ती कतै डेग चल्दैनन्
अहोरात्र सागर भेट्न
लम्किरहने त नदीहरू हुन्
बगरहरू बगरमै लडिरहन्छन्
पहराहरू पहरामै रहिरहन्छन्
सुसाउँदै सङ्गीत भर्दै
बगिरहने त
छहराहरू हुन् / झरनाहरू हुन् ।

गतिको सङ्गति नमिले
भेटिन्न - गन्तव्य
आँखा हेरिरहे पनि
केही अर्थ नहुन सक्छ
आँखा चिम्लिरहे पनि
धेरै अर्थ हुन सक्छ
यी जोडी आँखाहरूले
बहिर्यात्रा गराउँदै
दूर- सुदूर कतै पु~याउलान्
हामी अन्तरको उज्यालो चाहन्छौँ भने
उकालो अझ उकालो उक्लन चाहन्छौँ भने
हामी यात्रीहरूले
चुपचाप- चुपचाप
जोडी आँखाहरूमा ढकनी लगाएर
बिजोडी आँखामा
लागिरहेको बिर्को खोल्नै पर्छ
अनि देखिन्छन्
आकाशमाथिका सुन्दर सुन्दर
आकाशहरू !!

**तीर्थराज अधिकारीका अरु कविता**