नानीका बाउ !

Hollywood Khabar May 30,2023 Comments

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, मे ३०,२०२३

अरू अरू
होटलमा पसेर
बोतल समातिरहून्
तर
हाम्रा नानीका बाउ त
भट्टीमै पसे पनि
दुधै पिउँछु - भन्छन् !

अरू अरू त
कोठी कोठीमा पसेर
नचिनेकाहरूको पनि हात समाउँदै
उफ्री उफ्री नाच्ने/ गाउने
कलाकारै हुन्छन् - अरे
तर
हाम्रा नानीका बाउ त
कोठीमै पसे पनि
त्यहाँका रामरमिताका
दर्शकमात्र हुन्छु- भन्छन् !

अरू अरू त
सधैँ सधैँ जुवाघरमा छिरेर
निक्कै हारजित हुने गरी
पासा नै पल्टाउँछन् अरे !
तर
हाम्रा नानीका बाउ त
कहिले काहीँ आक्कल-झुक्कल
जुवाघरमै छिरे पनि
कुनातिर कतै एक्लै बसेर
चिया-नास्तामात्र खान्छु- भन्छन् !

आफूले गरेका सबै काम
बताउँछन् - खुलस्त नढाँटी !
बिचरा ! कति सोझा छन्
हाम्रा नानीका बाउ !!

कामै कामले
बाहिर जति रात छिप्पिए पनि
तिमीहरूको मायाले
हाम्रा नानीका बाउ !
बास बस्न त जसरी पनि
घरै आउँछु - भन्छन् !

गीतका पनि
निकै सौखिन छन्
हाम्रा नानीका बाउ !
घर आएको
परैबाट पत्तो पाइन्छ
रातको चकमन्नतालाई चिर्दै
बाटाभरि पनि सुसेल्दै सुसेल्दै
उनी मायाकै
मीठा मीठा गीत गाउँछन् !!

**तीर्थराज अधिकारीका अरु कविता**