भ्यागुताहरू

Hollywood Khabar June 09,2023 Comments


-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, जुन ९, २०२३

उफ्रिन्छन् पछारिन्छन्
उफ्रिन्छन् फेरि पछारिन्छन्
उफ्रिन्छन् फेरि पनि पछारिन्छन्
कान्ला नाघेर माथि पुग्ने
जति प्रयास गरे पनि
कान्लामुनि नै लतारिन्छन्
भ्यागुताहरू !

मन मनलाई आल्हादित पार्दै
आँखा आँखामा रङ्ग भर्दै
हिलामा शिर उठाएर
फुल्छन् कोमल कमलहरू !
बास एउटै भएर मात्र के र !
हिलामै मुन्टो गाडेर
कर्कश निरन्तर कर्कश बोलीले
मन अमन गराउँछन्
भ्यागुताहरू !

सर्पले निलिरहँदा पनि
सामुमा झिँगाहरू भेटिए
तिनलाई निल्न
अझै रहर गरिरहन्छन्
भ्यागुताहरू !

कथा यस्तो पनि छ -
साँढेका विशाल पेट देखेर - ईर्ष्याले
आफैँ महासाँढे बन्न
बेलुन झैँ पेट फुलाउँदा
आफ्नै पेट फुटेर मर्छन्
भ्यागुताहरू !!

**तीर्थराज अधिकारीका अरु कविता**