जहाँ सुन्दर जीवन हुन्छ

Hollywood Khabar June 27,2023 Comments

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, जुन २७, २०२३

जति नै सुन्दर भए पनि
रसविनाका बिरसिला
प्लास्टिकका रङ्गीन फूलहरूमा
झुम्मिँदैनन् - मौरीहरू
लोभिँदैनन्- भ्रमरहरू
नजिक पर्दैनन्
नाच्दैनन्- पुतलीहरू !

उस्तै दुरुस्तै - प्रतिरूपका
माटाका कृत्रिम - ती
स्याउ र सुन्तलाहरू
अङ्गुर र केराहरू
आँप र अम्बाहरू
मान्छे हुन् कि पशु
चरा हुन् कि किरा
खाँदैनन् कुनैले/ कसैले !

भित्ताका चित्रका परेवाहरू
झम्टिँदैनन् - बिरालाहरू !
झम्टिए नै पनि
डरको घर प्राण नै नभएपछि
त्रासले कतै उँड्दैनन्
ती परेवाहरू !

पसल पसलमा सजाइएका
डमीहरू मान्छे होइनन्
विना जीवनका
ती मान्छेका प्रतिरूप मात्र हुन्
मौसम जे-जस्तै होस्
भित्र/ बाहिर
परिधानरहित
परिधानसहित
जसले जता राखे पनि
विनाप्रतिक्रिया
उतै बसिदिन्छन् !

सुगन्ध छरेर बोटमा झुलिरहेका
सुन्दर र रसिला फूलहरूमा
रोपिन्छन् भमरा र मौरीका
तिखा शूलहरू
रसले लोभिँदै त्यतै झुम्मिन्छन्
पुतलीका - हुलहरू
अर्चनामा / सम्मानमा
चुँडिन्छन् - यिनै फूलहरू !

मीठा रसदार फलहरू
हाँगाहरू लछारेरै टिपिन्छन्
यतै झुम्मिन्छन् -
मान्छे र पशुहरू
चरा र किराहरू !

आकाशमा कावा खाइरहेका
परेवाहरूलाई झम्टिन्छन् - बाजहरू
जमिनमा चारा टिपिरहेका
परेवाहरूलाई झम्टिन्छन्
बिरालाहरू !!

पत्रपत्र च्यातिएका - फूलहरूले
दिन्छन् असिनाका कर्मका - परिचय !
सहन्छन् सहस्रौँ यातना
तैपनि
गलेर / थाकेर/ त्रसित बन्दै
फुल्न रोकिन्नन् - फूलहरू
फल्न रोकिन्नन् - फलहरू !

प्रकृतिमा-
रातले दिनलाई लखेट्छ
दिनले पनि रातलाई लखेट्छ
देहसित छाया कहाँ अलग हुन्छ ?
घाम र बादलको
क्रिया/ प्रतिक्रिया चलिरहन्छ
जहिलेसम्म
यो जीवन र जगत् रहन्छ !!
यसैमा सुन्दर फूलले
सङ्घर्षले आफ्नो रङ्ग पनि साँचिरहन्छ !!

**तीर्थराज अधिकारीका अरु कविता**