मेरी प्यारी कविता

Hollywood Khabar July 02,2023 Comments

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, जुलाई २, २०२३

मेरी प्यारी कविता
डुबाउँछे सागरमा मलाई
चढाउँछे पर्वतमा मलाई
देखाउँछे सिर्जन मृत्तिकाको
चिनाउँछे व्योम कलै कलाको ।१।

आलस्यमा जाँगर जोश भर्छे
निदाउँदा जाग न जाग भन्छे
पीयूष ल्याई रसदान गर्छे
रोगाउँदा रोग हटाइदिन्छे ।२।

म झोक्रिए माथ उठाइदिन्छे
म कक्रिए दर्द हटाइदिन्छे
ती फूल झैँ हाँस न हाँस भन्छे
तारा बनी बाँच न बाँच भन्छे ।३।

अभावमा नूतन भाव दिन्छे
हटाउँदै कल्मष भित्र धुन्छे
समीरले झैँ मन स्पर्श गर्छे
सन्तापमा शीतल काख दिन्छे ।४।

रुवाउँछे क्यै करुणा जगाई
हँसाउँछे अन्तर कुत्कुत्याई
पियाइदिन्छे रस वीरताको
सेलाउनै दिन्न मभित्र तातो ।५।

नचाउँछे रङ्ग उमङ्ग छाई
कजाउँछे स्वप्न अनेक ल्याई
प्रकाश बोकी तमसाथ लड्छे
ऊ नित्य मेरै मुटुभित्र बस्छे ।६।

अन्याय क्यै अक्षर यी सहन्नन्
असत्यमा अक्षर यी नुहुन्नन्
को गर्न सक्छन् यतिका भलाइ ?
प्यारी छ मेरै कविता मलाई ! ७।

**तीर्थराज अधिकारीका अरु कविता**