-Tirtha Raj Adhikari

मालिक र नोकर

Hollywood Khabar July 19,2023 Comments

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, जुलाई १९ , २०२३

सहरको सडक छेउको
निकै फराकिलो हातामा निर्मित
आलिशान भवनमा मालिक बस्छन्
उनी आफूलाई
मान्छेभन्दा पनि महान्
मालिक ठान्छन्
यी मालिक साहेब
मान्छे हुने प्रयास कहिले गर्लान् ? मान्छेहरूले
यी मान्छे बनेको कहिले देख्न पाउलान् ?
कि यिनको लीला मालिक भएरै रित्तिएला ?
 
यिनको शिष्टता र शालीनता
खै कहाँ घाँस चर्न गएको छ ?
दिनहुँ यी
सोझा र सज्जन मान्छेहरूमाथि
शब्दका विषालु वाण हानेर
झम्टिरहन्छन्
किन होला मान्छेहरूमाथि
यिनको यतिसारो वितृष्णा ?
 
मालिक साहेबको
बडो इमानदार नोकर पनि छ
उनलाई भेट्यो कि
पुच्छर हल्लाउँदै गोडामै लत्रिन्छ
गोडा चाटिदिन्छ
छाती टेकेर मुख चाटिदिन्छ
मालिक दङ्ग पर्छन्
महलमा भोजमा दिनहुँ निम्याइएका
आफूजस्तै मालिकहरूका सामु
मालिक साहेब
इमानदार नोकरका गुणका
खुलेर बखान गर्छन्!
 
महलमा मालिकै मालिक
भेला गरेर
मालिक साहेब
भोजका साथै
अरू रामरमिता पनि खुबै गर्छन्
दिनहुँ पेयमा पौडी खेल्दै
पासा पल्टाउँछन्
ज्ञानी नोकर परिक्रमा गर्दै
आगन्तुक सबैको सम्मान गरिरहन्छ
 
मालिक र नोकर
सँगै खेल्छन्
सँगै खान्छन्
सँगै सुत्छन्
स्वभाव पनि समानै छ
साना भेटे भुक्छन्
ठूला देखे झुक्छन् / ढोग्छन्!
बिहान बेलुका दुवै
सडकमा घुम्न निस्कन्छन्
हाकिम साहेबको होनाहार नोकर
सडकमै मल छर्दै जल चढाउँछ
काला चस्माले सुसज्जित
भलादमी हाकिम
मख्ख पर्छन्!
 
भोजनमा जति नै मीठा
परिकार भए पनि
पेयमा पौडिँदा पौडिँदै
आफ्नै देहबाट निश्रित
जलकुण्डमा टाउको जोतेर
मालिक साहेब आराम गर्छन्
त्यही रस मीठो मान्दै
नोकर उनलाई चाटिरहन्छ
 
लोकलाई यिनी ललकार्छन्
लोक यिनका लीलाले लज्जित बन्छ
अरूलाई लाग्छ
मदमत्त यी कहिले मान्छे होलान्
तर यी मान्छे हुनै नसकी
आफूलाई मान्छेभन्दा
महान् मालिक ठान्छन्
यही त छ अचम्म !!
 
बिचरो नोकरको त के कुरा !
महल नभेटेको भए
आफ्ना स्वजाति अरूजस्तै
गल्लीमै लम्पसार पर्थ्यो
गल्लीमै ढुक्थ्यो
गल्लीमै भुक्थ्यो
भुक्ने ठाउँ परिकारले भरिपूर्ण
महल भेट्यो
यो उसको अहोभाग्य हो !!
 
**तीर्थराज अधिकारीका अरु कविता**