-Tirtha Raj Adhikari

फुलेको जवानी

Hollywood Khabar August 13,2023 Comments

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, अगष्ट १३, २०२३

तारमा जलका धारा कसरी हेर बग्दछन्
शून्य आकाशमा यान कसरी हेर चल्दछन्
उत्साहीहरूले चुम्छन् विशाल उच्च टाकुरा
ढुङ्गा सम्याउँदै पार्छन् भिरलाई पनि गरा ।१।

धराको रसको धारा वीर प्यूँछन् सधैँभरि
काकाकूल कहाँ पाऊन् इन्द्रेणी जल निर्झरी
मुहूर्त जन्मको जप्दै जन्मेको भ्रममा परे
हुँदैन जन्मको सार कतै भेटिन्न मिर्मिरे ।२।

प्रात : सन्ध्या दुवै सत्य घाम जीवन पद्धति
नभाँचौँ वयको औँला कर्म साँचौँ सके जति
फूल फुल्छन् अति राम्रा ढुङ्गाकै काप-कापमा
स्वर्ण शृङ्गार टल्किन्छन् आगाकै राप- रापमा ।३।

लाखौँ वर्ष हओस् माटो नित्य उस्तै छ उर्वरा
बीजमा बीज जन्माई छातीमा बोक्छ आँकुरा
शैलमाला सधैँ राम्रा उस्तै छन् उसका कला
नदीका चाल रोकिन्नन् पुग्छन् विश्व थला- थला ।४।

हात बाँधे कला मर्छन्, ओठ सुक्छन् गला सुके
आलस्यको बनी दास कसले लाभ लिन्छ के?
बल विवेकले हाँके हुन्न केही असम्भव
जवानी फूल झैँ फक्रे हुन्छ जे पनि सम्भव ।५।

**तीर्थराज अधिकारीका अरु कविता**