-Tirtha Raj Adhikari

मानवताको बोल

Hollywood Khabar September 13,2023 Comments

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, सेप्टेम्बर १३, २०२३

मलाई तारासित खुसीले खेल्न देऊ
मलाई जूनसित आनन्दले भुल्न देऊ
म नीलो आकाशको पछ्यौरी ओढेर
रातमा जीवनका मीठा सपना
देख्न चाहन्छु
बिहानै ब्युँझदा आँखाअगाडि
न्यानो घामले पोतिएको
शुभ्र-शान्त हिमाल हेर्न चाहन्छु ।

मेरा चाहनाहरू नधमिल्याऊ
फूलहरूमा मेरो अगाध माया छ
भावनाहरूलाई सँगै फुल्न देऊ
झरनाहरूका झङ्कारले
पग्लिन्छ मेरो मन
तिनकै नजिकमा मलाई
जीवनको गीत गाउन देऊ।

रातमा पयो बाट्दै कोही नआऊ
छायाभित्र छाया बनेर
कसैले लामा हात नफैलाऊ
ऐठनका भारी बोकाएर
आँखामा पर्दा नलगाऊ।

रात होस् कि प्रात: होस्
मुटु सङ्लिएर शिखर चढिरहेको छु
मभित्र चुपचाप बसिरहेको आगो
बल्न खोजिरहेको छ
होस गर !
त्यो आगालाई कसैले नजिस्क्याऊ!!

आस्था र श्रद्धा अर्पिरहेको छु
-माटामा
मलाई माटामा मित लाउन देऊ
अन्तरबाट अन्तरमा
प्रकाश खोजिरहेका छन्
मेरा अन्तर आँखाहरू
भाका खोजिरहेका छन्
मेरा भावनाहरू
कुनै कोलाहल हैन
शान्ति देऊ भ्रान्तहरू!
भ्रान्तिका यात्रा रोकेर
सके कान्ति देऊ!

मान्छेको बस्तीमा
म मान्छेलाई डाकिरहेको छु
त्रास होइन मलाई साथ देऊ
मायाको मन चाहिएको छ
मुटु मेरै झैँ पग्लिएर
तिमी मलाई चोखो विश्वास र
आड देऊ।

असि हैन मसी छ मेरो हातमा
मलाई उज्यालो चाहिएको छ
काला काला मायावी जालहरू
किरणका करौँतीले काटिरहेको छु
म ऊर्ध्वगामी ऊर्ध्वयात्रामा छु
तारासँग खुसीले खेल्न देऊ
जूनसँग आनन्दले भुल्न देऊ
भूगोलका प्रत्येक पाटामा
म फूलहरू रोप्न चाहन्छु
मलाई सङ्लो पानी देऊ
मलाई न्यानो घाम देऊ।

पर्खाल होइन
म आकाश चाहन्छु
मेरो जीवनको गीतमा
तिमी मीठो भाका र सङ्गीत देऊ।

यस यात्राबाट
म मेरो आकाशमा
तारासँग सधैँ खेल्नेछु
जूनसँग सधैँ खेल्नेछु
र, धर्तीमा सर्वत्र सबैसँग
मानवताको बोल बोल्नेछु।

पर्खालहरू!
तगाराहरू!
छलकपटका मायावी जालहरू!
मेरा यात्राका सामु गल्दै गल्दै ती आफैँ ढल्नेछन्
यो मेरो सुन्दर सपना हो
यो मेरो सुन्दर बिपना हो !!

**तीर्थराज अधिकारीका अरु कविता**