मन-यात्रा

Hollywood Khabar September 30,2023 Comments

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, सेप्टेम्बर ३०,२०२३

मन विशालताको
फेद टुप्पो कहाँ छ ?
प्रत्येक हिमशृङ्खलाका
वक्षस्थलभरि टाँसिएको छ
शिखरभन्दा पनि माथिमाथि
चढेको छ
हिउँमा जमेको छ
हिउँमा पग्लिएको छ
पाखामा/पातहरूमा/डाँठहरूमा
फूलहरूमा/काँडाहरूमा छरिएको छ
जराजरामा छिरेको छ
गरागरामा फिँजिएको छ !

चराका चिर्बिरमा 
झरनाका झर्झरमा 
इन्द्रेणीका प्रत्येक रङ्गमा 
पोतिएको छ !
 
जूनसँग/तारासँग 
बादलसँग/घामसँग 
आकाश नीलो सतहसँग
गाँसिएको छ !

खोचसँग/पर्वतसँग
खल्वाटसँग/उर्वरसँग 
धरातल उच/नीच जताततै 
पसारिएको छ 
एकान्तमा/समूहमा 
मौनतामा/भाषामा 
त्रासमा/आसमा लहरिएको छ 
मूर्त/अमूर्त 
रूप/विरूप 
असीम गहिराइमा 
असीम उचाइमा व्याप्तिएको छ!

दिनमा/रातमा 
चिसो/तातो 
अनन्त ऋतुहरूमा घुमेको छ 
नदी भेलसँगै 
समुद्री ज्वारभाटामा उठेको छ!

सपनामा/बिपनामा रङ्गिएको छ 
आँसुमा लहरिएको छ 
सङ्गीतमा बजेको छ 
हाँसोमा छचल्किएको छ 
गीतमा गुन्जिएको छ 
छाती पिटिएको छ 
ताली बजेको छ 
सुस्केराहरूमा निसास्सिएको छ!

नाक खुम्चिएको छ 
नाक ठडिएको छ 
ओठ तन्किएको छ 
ओठ खुम्चिएको छ 
आँखा खुलेको छ 
आँखा चिम्लिएको छ!

मुठ्ठी कस्सिएको छ 
मुठ्ठी फुस्किएको छ 
पाइला उचालिएको छ 
पाइला टेकिएको छ 
रगत तातेको छ 
रगत सेलाएको छ 
झोक्रिएको छ 
उफ्रिएको छ 
हर्षित/ विस्मित छ 
ज्ञान भोक/विज्ञान 
भोक अझै के के ...!!

उपलब्धि/अनुपलब्धि 
आकाङ्क्षा आकाङ्क्षा 
विचार विचारका बिस्कुन 
सृष्टि/ प्रलय 
अनन्त यात्रा 
मन भेउ कहाँ छ ? 
शिर पुच्छर कहाँ छ ?

**तीर्थराज अधिकारीका अरु कविता**