कहाँ छ यस्तो ?

Hollywood Khabar October 18,2023 Comments

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, अक्टुवर १८, २०२३

माटो जहाँ फूल अनेक फुल्छन्
सौन्दर्य बोकेर सुवास दिन्छन्
सबै सबै कोमल रूपमा छन्
तेरो र मेरो न त भाव बोक्छन् ।१।
 
यी जातमा जात अनेकका छन्
यी मृत्तिकाका सब शान नै हुन्
मिल्दा सबै बन्दछ फूलबारी
लुछेर रम्छन् शठ धुन्धुकारी ।२।
 
यो बुद्धको धाम र शैव धाम
अनाम बन्दैन र बोक्छ नाम
सर्वोच्च ध्यानी हिमको चुली यो
ढल्दैन कैल्यै जगको धुरी यो ।३ ।
 
छ ध्यान मेरो अझ कन्दरामा
छ ज्ञान मेरै अझ यो धरामा
यी तालका दर्पण भित्रभित्र
हेर्नै छ बाँकी अझ व्योम चित्र ।४।
 
सद्-भावका लोचन यी उघारी
दुर्भावका कल्मष यी बढारी
छ हेर्न बाँकी अझ दिव्य लोक
आलोक पोती दिलको अनेक ।५।
 
छन् निर्झरी झर्झरका तरेली
अनन्त यात्रा कति दिव्य लोली !
चरी यतै, शावक खेल खेल्छन्
गला कला पर्वत काखमा छन् ।६।
 
माया यतै, पात यतै सुसेली
आहा ! छ कस्तो दिल हास्य रेली
सत्कर्म गर्दै यसमै रमाऊँ
त्यो स्वर्गको सौख्य यतै म पाऊँ ।७।

**तीर्थराज अधिकारीका अरु कविता**