लीला

Hollywood Khabar November 24,2023 Comments

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, नोवेम्बेर २४, २०२३

ऊ त्यो माकुराको
लीला हेर !
त्यसले दिनरात जाडो गर्मी
केही नभनी
हिजो बच्चाहरूको आहारा जुटाउन
जाल बुनिरह्यो
जालमा फसेका झिँगाहरू समातेर
बच्चाहरूका पेट भरिरह्यो !
आज ऊ
अशक्त छ
अचेत छ
बच्चाहरू उसका
आन्द्रा लुछिरहेका छन् !
सन्तानहरूले सायद
पुर्खाका विरासत
धानिरहेका पनि होलान् !!

ऊ त्यो सिउँडीको
बोट हेर !
पात-पातमा
डाँठ-डाँठमा
काँडाहरू जन्माएर
आफ्नै काँडाले आफैँ घोचिँदै
सृष्टिको सौन्दर्यको अपवादमा
कसैको घरबारको बारमा
अररो रूप उभ्भिइरहेको छ !

मयूरहरूलाई त्यति सुन्दर प्वाँख
दिने अनि दुम्सीहरूलाई काँडै काँडाको
भारी बोकाउने को होला ?
कोयलीलाई त्यति मीठो गला दिने
अनि रूपमा उस्तै भए पनि
कागलाई कर्कश राग
घोकाउने को होला ?

लाटा पाडाहरूलाई
दुध चुस्न लगाउँदै
बाठा कागहरूलाई
दिसा खान लगाउने
भोजनको प्रबन्धक
को होला ?

**तीर्थराज अधिकारीका अरु कविता**