आफैँलाई नदेख्ने यी आँखाहरू

Hollywood Khabar December 04,2023 Comments

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, डिसेम्बर ४, २०२३

संसार हेर्न उघारिएका
यी मेरा आँखाहरू
आफैँसित टाँसिएका
आँखीभौँहरू देख्दैनन्
परेलाहरू देख्दैनन्
कानहरू देख्दैनन्
नाक, निधार र गालाहरू देख्दैनन्

अरूको त के कुरा !
यी मेरा आँखाहरूले आफैँलाई पनि देख्दैनन् !ऐनाहरू नभए
मेरो आँखा मै देख्दिनँ
मेरो टाउको मै देख्दिनँ !
तिम्रो हालत पनि
आखिर यही त हो !
मलाई तिमी देख्छौ
तिमीलाई म देख्छु
तिमी र म
अर्थात्- हामी
कति निरीह छौँ !

कोही टाढा छ
त्यो पनि देखिन्न
आँखा नै बन्द भए
झन् के पो देखिन्छ र !!

मन ठेगानमा नभए
साथै भए पनि
कोही देखिन्नन् !
यी आँखाहरूले
देख्न सक्दैनन् -अणु/परमाणुहरू !!

तलाउमा बर्सिरहेको छ
आकाशबाट-जल
एकाकार तलाउको जललाई
जलपात्रभरि भरेर
कति आकाशको
कति तलाउको छुट्याएर कहाँ भन्न सकिन्छ र ?

दृश्यहरू देख्न सृजित
यी मेरा र तिम्रा आँखाहरू
आफैँलाई देख्न सक्दैनन् भने
अदृश्य संसारका
अलौकिक रहस्यहरूका
भेउ कसरी पाउलान् !!

यी आँखाहरूमा पत्यार नलाएर
अँध्यारा गुफाहरूमा आँखा चिम्लिँदै
भित्र अझ भित्रको उज्यालो
खोजिरहन्छन् -योगीहरू
तन मैलै किन नहोस्
मन बलिरहन्छन्- योगीहरू
अन्धकारबाट उज्यालातिर यात्रा गर्दै
मृत्यु जितेर
अमृत पिइरहन्छन्- योगीहरू !

उज्याला बत्तीमा आँखा तिर्मिराउँदै
तनका सुकिला
मनका धमिला
खुस्बुदार भोगी मान्छेहरू
कहाँ देख्न सक्छन्
आत्मा र परमात्माहरू !!

सुकुलमाथिका स्थिर आसनबाट
एकाएक आसन बदलेका
घुम्ने मेचमा विराजमानहरूलाई
आफ्ना दुई गोडा गुमेर
चार खुट्टा उपहारमा मिलेको
मदले मति नासिँदा
पत्तो छ कि छैन कुन्नि !

रूखमा बाँदर नाचे झैँ
कुर्सीमा हल्लिरहनेहरू
संयम गुमेका
अन्धकारमा रुमल्लिइरहेका
हतभागीहरू हुन् !
भित्रका आँखाहरू नखुली
यी अन्धकार ओढेर
अन्धकारमै अस्ताउँछन्
अमृतमय जीवन
कहाँ देख्नु यिनले !
कहाँ भेट्नु यिनले !

**तीर्थराज अधिकारीका अरु कविता**