Tirtha Raj Adhikari

मान्छे हुन नसकेका मान्छेहरू !!

Hollywood Khabar January 14,2024 Comments

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, जनवरी १४, २०२४

मान्छे हुन
चाहिन्छ सायद - मानवता
मान्छे हुन
चाहिन्छ सायद - दया माया
मान्छे हुन
चाहिन्छ सायद विवेकी
कल्याणको भावना !

लोभले
क्रोधले
मोहले
कामले
विवेकमा बिर्को लगाइरहन्छ भने
मान्छे हुनुको अस्तित्व नै
कहाँ रहन्छ र !
खानु , सुत्नु , उठ्नु

सन्तान जन्माउनु
डरको बर्को ओढिरहनु
यी त
मानवेतर प्राणीमा पनि त हुन्छन् !

असल र खराब
छुट्याउने विवेक नभए
आकृतिमा मान्छे जस्तै देखिए पनि
यथार्थमा त्यो मान्छे हुँदैन
मान्छेबाट
सत्य र सदाचार हराएपछि
मान्छे कहाँ रहन्छ र !!

अरूमाथि  शासन गर्न खोज्नेहरूले
पहिले आफैँमाथि शासन गर्न सके
समाज कति सुन्दर हुन्थ्यो !

तर तिनीहरूका
विवेकी कुराहरू सुन्ने
कानहरू कहाँ छन् र !
दम्भका पहाडहरूमात्र चढिरहने
तिनीहरूका
संयमशील मन नै कहाँ छ र !

यो विद्रूपता
त्यसैको परिणाम हो
न भूत
न भविष्यत्
वर्तमानलाई यिनै जन्तुहरूले
गिजोलिरहेपछि
सुन्दर प्रतिफल कहाँ प्राप्त हुन्छ ?
सुख र समृद्धि
कहाँबाट मिल्छ ?

**तीर्थराज अधिकारीका अरु कविता**