Tirtha Raj Adhikari

समयको खेल

Hollywood Khabar January 22,2024 Comments

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, जनवरी २२, २०२४

नदीमा जब जल
घट्दै घट्दै जान्छ
तब किनारामा
फोहोरका चाङ लाग्दै जान्छन्
नदीमा जब जल
बढ्दै बढ्दै जान्छ
तब किनाराका
सारा कसिङ्गरहरू बग्छन्/बढारिन्छन् !

भरियाले झैँ
हिमाल
कहिले हिउँको
भारी बोक्छ
कहिले बिसाउँछ !

समयले
कतै कसैलाई
बिदा गर्छ
कतै कसैलाई
स्वागत गर्छ !

सुन्दर फूलहरू हुन् कि
कुरूप काँडाहरू
समय पुगेपछि
कुनै रहन्नन् !

रातको चकमन्नतामा
अत्यास लाग्दो
त्यो सुनसान नीरवतामा
लाग्छ, दिन पनि कतै
आउला त !
दिनको सुन्दर रौनकतामा
लाग्छ, रात पनि कतै
आउला त !
तर समयको चक्रमा
दिन र रात घुमिरहन्छन्
घाम र छायाको
लुकामारी चलिरहन्छ !

कालक्रममा
आजका शासकहरू
भोलि शासित हुन सक्छन्
आजका शासितहरू भोलि शासक हुन सक्छन्
एउटै समय
कसैलाई वरदान हुन सक्छ
कसैलाई अभिशाप हुन सक्छ !

समयको यो खेल
देखेर पनि
किन नदेखे झैँ गर्छन्
मान्छेहरू !
संसारको सीमित समयको
पाहुना हुँदा हुँदै पनि
आफूलाई निकै बलशाली ठानेर
भ्रमै भ्रमले
मुठ्ठीले किन आकाश घोचिरहन्छन्
मान्छेहरू !!

**तीर्थराज अधिकारीका अरु कविता**