अन्तरे त होनाहारकै भएछ !

Hollywood Khabar February 08,2024 Comments

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, फेब्रवरी ८, २०२४

अन्तरे
बारी खन्थ्यो
कोदो रोप्थ्यो
कोदो गोड्थ्यो
पाकेपछि कोदो टिप्थ्यो
कोदो माड्थ्यो / निफन्थ्यो
कोदो पिन्थ्यो
कोदै कोदाले
बिहान बेलुकाको छाक टार्थ्यो
गोदो उसको
प्राण धान्ने आधार थियो !

अन्तरे
मल सोर्थ्यो
मल बोक्थ्यो
घाँस काट्थ्यो
दाउरा बोक्थ्यो
खन्थ्यो / जोत्थ्यो
यस्ता सबै काम गर्थ्यो !

गाउँमा कामै कामले
दिक्क भएर
ढिँडै ढिँडाले
वाक्क भएर
रिसले गोरु फुकाएर
पाखातिर धपाई
जोत्ता जोत्तैको हलो
सिस्नो घारीमा मिल्काएर हिँडेको
अन्तरेले
सहर पसेपछि त आकाशै छोएछ !

पानीको सट्टा
दुधै दुधले मुख धुने
ऊ त अर्कै भएछ !

दुई चार अक्षर पढेछ
दुई चार पैसा कमाएछ
कागको पनि फुल चोर्ने
कोइलीजस्तै भएछ !

गाउँमा थुकेर हिँडेको सिस्नो
सहरमा त्यै खोजी खोजी
महँगो पैसा तिरेर
खान थालेछ
कोदाको ढिँडाले वाक्क भएर
धानको भात खान
गाउँ छोडेर हिँडेको
अन्तरेले
सहरमा त्यै ढिँडो
मीठो मानी मानी
होटल होटल छिरी
चर्कै पैसा खन्याएर
थपी थपी खान थालेछ !

गाउँमा बाच्छा बाच्छी
साथी हुन्थे
सहरमा कुकुरलाई
साथी बनाउन थालेछ
गाउँमा मल सोर्थ्यो
सहरमा पनि
मल स‍ोर्दो रहेछ !

अन्तरेले
भातलाई भुजा भन्न थालेछ
ऊ,सभ्य पनि भएछ
निकै भलादमी पनि भएछ
आइस्योस् गइस्योस् भन्दै
नेपाली बोल्दा आधाभन्दा बढी
अङ्ग्रेजी मिसाउन थालेछ !
भाषा पनि राम्रैसित पढेछ !


कपाल भुटुन हालेर
टल्काउन थालेछ
कालो चस्मा  
ढल्काउन थालेछ
देश,काल र परिस्थिति
बदलिएपछि
मान्छे अर्कै पो हुने रहेछ !
अन्तरे त
होनाहारकै भएछ !!

**तीर्थराज अधिकारीका अरु कविता**